- by समाचार कक्ष
- Mar 06, 2025
संसद्को सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताको विषयले प्रवेश पाएको छ।
मंगलबार बसेको समितिको बैठकमा राप्रपा सांसद खुस्बु ओलीले विमानस्थल निर्माण प्रक्रियामा उठेका अनियमितताबारे गम्भीर ढंगले छलफल हुनुपर्ने धारणा राखिन्। उनले यसअघि भएका छानबिन तथा अनुसन्धान प्रतिवेदनसमेत अध्ययन गरेर त्यहाँ औंल्याइएका समस्यामाथि समितिले ध्यान दिनुपर्ने बताइन्।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा पनि सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताबारे अध्ययन गरेको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा बनेको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो।
यस प्रकरण अहिले अदालतसम्म पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारीसहित निर्णय प्रक्रियामा संलग्न अधिकारी र सम्बन्धित कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मूल सम्झौताविपरीत कर छुट दिँदा राज्यलाई ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुगेको दाबी गरेको छ। उक्त मुद्दामा चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङ तथा उसका दुई प्रतिनिधिलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
२१ फागुनको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको यो पहिलो बैठक हो, जहाँ पोखरा विमानस्थल प्रकरण प्रमुख विषयका रूपमा उठेको हो।