Monday, June 1, 2026

१९ केन्द्रीय सदस्य मनोनयनप्रति शेखरको असन्तुष्टि, ‘कांग्रेस एकतामै ठेस पुग्यो’


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै गरिएको १९ केन्द्रीय सदस्यको मनोनयनले पार्टीको वृहत्तर एकतामा असर पुगेको बताएका छन्।

सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि उत्पन्न परिस्थितिबारे आफूनिकट नेताहरूसँग छलफल गरेपछि कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

कोइरालाले वैशाख २८ गते गरिएको मनोनयन प्रक्रियाले पार्टीभित्रको एकतालाई कमजोर बनाएको उल्लेख गर्दै कांग्रेसको १५औँ महाधिवेशनलाई “एकता महाधिवेशन” का रूपमा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्छ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा १४औँ महाधिवेशनबाट निर्वाचित उनीनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा नवमनोनित केन्द्रीय सदस्यहरू जीवन परियार, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला र उर्मिला थपलियासमेत सहभागी भएको स्रोतले जनाएको छ।

छलफलका क्रममा मनोनयन प्रक्रियाबारे आफूहरूसँग पूर्वपरामर्श नगरिएको भन्दै केही नेताहरूले असन्तुष्टि व्यक्त गरेको बताइएको छ।

सभापति थापाले मनोनयन गरेका १९ जनामध्ये सात जना भने कोइराला समूहसँग निकट मानिने नेताहरू रहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like