- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पछिल्ला केही दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिँदा सामाजिक सञ्जालमा विभिन्न अड्कल र चर्चा बढिरहेका छन्। चुनावी मैदानमा बहुमत ल्याउने लक्ष्यसहित अघि बढिरहेको पार्टीका प्रमुख नेता नै लामो समय ‘नदेखिँदा’ समर्थक र राजनीतिक वृत्तमा चासो स्वाभाविक बनेको हो।
सामाजिक सञ्जालमा उनकाे अनुपस्थितिलाई लिएर अनेक अड्कल र षड्यन्त्रका सिद्धान्तसमेत फैलिएका छन्। कतिपयले उनी राजनीतिक नजरबन्दमा परेको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्। तर रविनिकट स्रोतका अनुसार उनी सार्वजनिक कार्यक्रममा नदेखिनुको मुख्य कारण स्वास्थ्य समस्या, विशेषतः खुट्टामा लागेको चोट हो।
रास्वपाको झापामा आयोजित जनसभास्थलतर्फ जाँदै गर्दा पर्खालमा ठोक्किएपछि रविको खुट्टामा चोट लागेको थियो। सुरुआतमा सामान्य ठानिएको उक्त चोट समयसँगै जटिल बन्दै गयो। झापाबाट चितवन हुँदै काठमाडौं फर्किएपछि पनि उनी सहज रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए।
घुँडाभन्दा तल लागेको चोटमा इन्फेक्सन देखिएपछि रवि १३ माघमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। तीन दिन उपचारपछि उनी डिस्चार्ज भए पनि हाल घरमै आराम गरिरहेका छन्। चिकित्सकको निगरानीमा उनको घाउको नियमित ड्रेसिङ भइरहेको छ।
निकट स्रोतका अनुसार घाउमा सुधार हुँदै गए पनि अझै पूर्ण रूपमा निको भइसकेको छैन। चोट लागेको स्थानमा गहिरो खाल्डो बनेको र उनलाई दैनिक कामकाजका लागि समेत सहयोग आवश्यक पर्ने अवस्था छ।
‘चुनावको संघारमा घाउले धेरै समस्या भयो, तर अब उहाँ बिस्तारै बाहिर निस्किने तयारीमा हुनुहुन्छ,’ स्रोतले जनाएको छ।
रवि आजै चितवन जाने तयारीमा थिए। तर चिकित्सकको सल्लाहअनुसार तत्काल यात्रा स्थगित गरिएको छ। यद्यपि, उनी लामो समय काठमाडौंमै बस्ने मनस्थितिमा नरहेको र भोली–पर्सीभित्रै चितवन पुग्ने सम्भावना रहेको बुझिएको छ।
चितवन पुगेपछि भने उनी प्रत्यक्ष रूपमा चुनावी प्रचारमा सक्रिय हुन नसक्ने अवस्था छ। तथापि, घरमै बसिरहनुभन्दा आफ्नै निर्वाचन क्षेत्रमा पुगेर आराम गर्ने सोच बनाइरहेको निकटस्थले बताएका छन्।