Thursday, April 16, 2026

सी जिनपिङको पुस्तक जलाइएको विवाद: गृहको छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन आउने


विराटनगर - मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनापछि गृह मन्त्रालयले छानबिनका लागि समिति गठन गरेको छ।

सफाइका क्रममा केही पुस्तक जलाइएको देखिएको भिडिओ सार्वजनिक भएपछि विषयले अन्तर्राष्ट्रिय चासोसमेत तानेको थियो। यसैक्रममा चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक ध्यानाकर्षण गराएको थियो।

घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रतिनिधि, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि तथा शिक्षा क्षेत्रका प्रतिनिधि समावेश छन्।

शनिबार साँझ फोहोर जलाउने क्रममा पुस्तकहरू जलेको दृश्य सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विश्वविद्यालयसँग स्पष्टीकरण माग्दै २४ घण्टे पत्राचार गरेको थियो। जवाफमा विश्वविद्यालयले प्रयोगविहीन, पानीले बिग्रेका तथा धमिराले क्षति पुर्‍याएका पुस्तकहरू मुचुल्का तयार गरी नष्ट गरिएको जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार समितिलाई आवश्यक छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ। प्रतिवेदनपछि मात्र घटनाबारे थप निष्कर्ष सार्वजनिक गरिने उनले बताएका छन्।

उक्त पुस्तकहरू मनमोहन प्रतिष्ठानमार्फत विश्वविद्यालयमा उपलब्ध गराइएको बताइएको छ। विश्वविद्यालय प्रशासनले अधिकांश पुस्तक वितरण भइसकेको र बाँकी सुरक्षित रहेको दाबी गर्दै नष्ट गरिएका पुस्तकहरू प्रयोगयोग्य नभएको स्पष्ट पारेको छ। साथै, विश्वविद्यालयले आन्तरिक रूपमा पनि छुट्टै छानबिन समिति गठन गरेको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like