- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं – काठमाडौं उपत्यका र देशका विभिन्न क्षेत्रमा पछिल्लो समय तुवाँलोका कारण आकाश धुम्मिएको छ। केही दिनदेखि मौसम खुल्न सकेको छैन र देशभर वायुप्रदूषणको स्तर उच्च रहेको छ।
विशेष गरी देशको पूर्वी भाग अत्यधिक प्रदूषित छ। यसै कारण काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा पुगेको छ। वायु गुणस्तर मापन गर्ने आइक्युएयर (IQAir) का अनुसार, काठमाडौंको हावाको गुणस्तर १८४ पुगेको छ भने शंखपार्कमा १६७ देखिएको छ।
नेपालका अन्य प्रदूषित क्षेत्रहरुमा इलाम, देउखुरी–दाङ, भैसेपाटी, भक्तपुर रत्नपार्क, खुमलटार र कीर्तिपुर पनि उच्च प्रदूषणको सूचीमा छन्। सामान्यतया ०–६० एयर क्वालिटी इन्डेक्सलाई राम्रो मानिन्छ, तर यी क्षेत्रमा १६० भन्दा माथि इन्डेक्स देखिएको छ, जसले स्वास्थ्यका लागि खतराको संकेत गर्छ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार विराटनगर पनि अत्यधिक प्रदूषित भएको छ। सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन् कि एयर क्वालिटी इन्डेक्स ६०७ पुगेको छ, जुन अत्यधिक घातक अवस्था हो। भारतको बिहार र वरिपरि भएको प्रदूषणको असर नेपालमा पनि देखिएको छ।
उपे्रतीले नागरिकहरूलाई मास्क प्रयोग गर्न र बाहिरी हिडडुल कम गर्न अनुरोध गरेका छन्। उनका अनुसार काठमाडौंमा प्रदूषण छ तर बादलले आकाश ढाकेको हुँदा वातावरण अझै अँध्यारो देखिन्छ।