- by समाचार कक्ष
- Mar 06, 2025
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गर्दैछ । वीरेन्द्रनगरस्थित शुभ होटलमा मध्यान्हबाट सुरु हुने दुई दिने भेलामा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।
जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार भेलाको उद्घाटन कांग्रेस महामन्त्री गगनकुमार थापाले गर्ने कार्यक्रम तय गरिएको छ । दिउँसो १२:३५ बजे सुरु हुने कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सहभागी हुनेछन् ।
कांग्रेसले संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय भेला सञ्चालन गरिरहेको जनाएको छ । यसअघि २६ र २७ वैशाखमा कैलालीको धनगढीमा यस्तै भेला सम्पन्न भइसकेको छ ।
पार्टीका अनुसार ३१ वैशाख र १ जेठमा गण्डकी प्रदेशस्तरीय भेला पोखरामा तथा ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा आयोजना गरिनेछ ।
त्यस्तै, मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा तथा लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना हुने कांग्रेसले जनाएको छ ।