- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा नाम जोडिएका सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएकी छन् ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकार अघि बढ्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही सांसदहरूको नाम प्रतिवेदनमा उल्लेख भएको विषयमा प्रतिक्रिया दिँदै उनले तथ्य पुष्टि भए कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने बताइन् ।
‘यदि प्रतिवेदनमा उल्लेख भएका विषय सत्य छन् भने त्यसको कार्यान्वयन हुनुपर्छ । सरकारले के गर्छ त्यो उहाँहरूको विषय हो, तर हामी कार्यान्वयन होस् भन्ने चाहन्छौँ । जसको नाम मुछिएको छ, सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ थापाले भनिन् ।
उनले न्यायपालिकामाथि राजनीतिक प्रभाव परेको भन्दै त्यसबारे पनि प्रश्न उठिरहेको टिप्पणी गरिन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस नेता रमेश लेखकमाथि पनि कारबाही सिफारिस गरिएको विषयमा प्रतिक्रिया दिँदै थापाले कानुनभन्दा माथि कोही पनि नहुने बताइन् । ‘कांग्रेसले कानुनसम्मत प्रक्रियालाई स्वीकार गर्छ,’ उनले भनिन् ।