Wednesday, April 15, 2026

कांग्रेसभित्र अन्योल: शेखर पक्ष बैठकमा सहभागी, तर औपचारिकता अस्वीकार


काठमाडौं - नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादका बीच डा. शेखर कोइराला पक्षले ‘मध्यम मार्ग’ अपनाएको छ। पूर्णबहादुर खड्काले बोलाएको बैठकमा सहभागी हुने निर्णय गरे पनि त्यसलाई औपचारिक मान्यता नदिने स्पष्ट संकेत उक्त पक्षले दिएको छ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको आन्तरिक छलफलपछि कोइरालानिकट नेताहरू बैठकमा जाने तर समानान्तर गतिविधिमा संलग्न नहुने निष्कर्षमा पुगेका हुन्। त्यसपछि उनीहरू धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजित बैठकतर्फ गएका छन्।

खड्काले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकका रूपमा उक्त भेलालाई प्रस्तुत गरे पनि कोइराला पक्ष भने त्यसमा सहमत छैन। एक नेताका अनुसार उनीहरू बैठकमा सहभागी भएर आफ्ना धारणा अनौपचारिक रूपमा राख्ने छन्, तर त्यसलाई वैधानिक बैठकको रूपमा स्वीकार गर्ने पक्षमा छैनन्। साथै, पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको निर्णय पर्खिने उनीहरूको धारणा छ।

यसैबीच, शेरबहादुर देउवा पक्षले गगन थापाको नेतृत्व अस्वीकार गर्दै समानान्तर गतिविधि अघि बढाइरहेको छ। यस्तो अवस्थामा कोइराला पक्षले दुवै धारबीच सन्तुलन कायम गर्ने प्रयासस्वरूप लचक नीति अपनाएको देखिन्छ।

हाल जारी बैठकमा पछिल्लो निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी भूमिका तथा १५ औँ महाधिवेशनको तयारीजस्ता विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like