- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - बानेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा थप एक उच्च अधिकारी पक्राउ परेका छन्। सो घटनामा संलग्न रहेको आरोपमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई मंगलबार बिहान सुविधानगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
यसअघि उक्त घटनामा भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते बानेश्वरमा भएको प्रदर्शनमा सुरक्षा बलले घातक बल प्रयोग गर्दा भएको मानवीय क्षतिको जिम्मेवारीमा रिजाललाई पनि दोषी ठहर गर्दै पक्राउ गरिएको हो।
गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजालमाथि फौजदारी अभियोग चलाउन सिफारिस गरेको थियो। आयोगका अनुसार प्रदर्शनका क्रममा लामो समयसम्म गोली चल्दा पनि स्थितिलाई नियन्त्रण गर्न वा बल प्रयोग रोक्न उनले प्रभावकारी पहल नगरेको ठहर गरिएको छ।
प्रतिवेदनमा कर्फ्यु जारी भइसकेपछि पनि सुरक्षा निकायबीच समन्वय गर्न नसकेको, साथै बल प्रयोगको मापदण्ड पालना गराउन असफल भएको आरोप लगाइएको छ। आयोगले पदीय जिम्मेवारीमा गम्भीर हेलचेक्र्याइँ भएको निष्कर्ष निकाल्दै कानुनी कारबाही अगाडि बढाउन सरकारलाई सुझाव दिएको थियो।
यद्यपि, रिजालले भने आफूले घातक गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्। संसद भवनको सुरक्षा र प्रदर्शनकारीको ज्यान जोगाउने उद्देश्यसहित न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र आवश्यक परे घुँडाभन्दा तल रबरको गोली प्रयोग गर्न मात्र भनेको उनको भनाइ छ।
उनले कर्फ्यु आदेशसमेत उच्च अधिकारीहरूको परामर्शमा लागू गरिएको बताएका छन्। आफूले सुरक्षाकर्मीलाई संयमता अपनाउन र मानवअधिकारको सम्मान गर्न निरन्तर निर्देशन दिएको जिकिर गरे पनि आयोगले भने उनलाई उक्त घटनाबाट उन्मुक्ति दिन नसकिने स्पष्ट पारेको छ।