- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्दै एकता कायम राख्न पाँच बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन्।
सभापति गगन थापासँग निरन्तर संवादमा रहेका कोइरालाले पार्टी विभाजनको सम्भावना रोक्न सहमतिमूलक विकल्प प्रस्तुत गरेका हुन्।
कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नबनाउनुपर्ने प्रस्ताव गरेका छन्। उनले १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा आगामी महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्।
त्यस्तै, १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट गठन भएको कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउनुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्। कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्नुपर्ने तथा निर्वाचन समिति, अनुशासन समिति, विधान समिति, क्रियाशील सदस्यता छानबिन समितिलगायत अन्य समितिहरू आपसी सहमतिका आधारमा गठन गर्नुपर्ने सुझाव उनले दिएका छन्।
उता, सभापति गगन थापाले पनि पार्टी एकता जोगाउन आफू लचक हुन तयार रहेको सन्देश दिँदै आएका छन्। उनले शेरबहादुर देउवा पक्ष र कोइराला समूहलाई समेटेर १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने संकेत गरेका छन्।
थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का तथा कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने सन्देशसमेत पठाएको बताइएको छ। यसअघि असन्तुष्ट समूहका १९ जना नेतालाई केन्द्रीय समितिमा समेटिसकिएको छ।