Wednesday, April 15, 2026

काबुलको अस्पतालमा हवाई आक्रमण: अफगानिस्तानको दाबी - ४०० भन्दा बढीको मृत्यु, पाकिस्तानको कडा खण्डन


काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा लागुऔषध प्रयोगकर्ताको उपचारका लागि सञ्चालन गरिएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको अफगान अधिकारीहरूले आरोप लगाएका छन्। उक्त आक्रमणमा कम्तीमा ४०० जनाको ज्यान गएको उनीहरूको दाबी छ। तर पाकिस्तानले भने अस्पताललाई लक्षित गरी कुनै आक्रमण नगरेको स्पष्ट पारेको छ।

अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राति करिब ९ बजे काबुलस्थित दुई हजार शय्याको ‘ओमर एडिक्सन ट्रिटमेन्ट अस्पताल’मा हवाई आक्रमण भएको बताएका छन्। उनका अनुसार आक्रमणका कारण अस्पतालको ठूलो भाग ध्वस्त भएको छ। घटनापछि आगलागी नियन्त्रण र भग्नावशेषबाट मृतक तथा घाइतेलाई बाहिर निकाल्न उद्धार टोली खटिएको उनले उल्लेख गरेका छन्।

स्थानीय टेलिभिजनले सार्वजनिक गरेको दृश्यमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले भग्नावशेषभित्रबाट घाइते र मृतकलाई निकाल्दै गरेको तथा दमकलकर्मीहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिएको छ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पतालजस्तो नागरिक संरचनामा आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन्। उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको बताएका छन्।

तर पाकिस्तानले भने अस्पतालमा आक्रमण गरिएको आरोप अस्वीकार गरेको छ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित गरी कारबाही नगरिएको बताएका छन्।

पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद राखिएको स्थानलाई मात्र लक्षित गरिएको दाबी गरिएको छ। मन्त्रालयका अनुसार कारबाही अत्यन्त सावधानीपूर्वक गरिएको र नागरिक संरचनामा क्षति नपुग्ने गरी सञ्चालन गरिएको थियो।

यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकलाई आतंकवादविरुद्धको अभियान तत्काल सशक्त बनाउन आग्रह गरेको छ। परिषद्ले सर्वसम्मतिले पारित प्रस्तावमार्फत सबै प्रकारका आतंकवादी गतिविधिको निन्दा पनि गरेको छ।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले पाकिस्तानी तालिबानलगायत विभिन्न उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

दुवै देशबीचको तनाव फेब्रुअरीको अन्त्यतिरदेखि थप चर्किएको हो। अफगानिस्तानले पाकिस्तानले आफ्नो भूभागमा हवाई आक्रमण गरेपछि सीमापार आक्रमण गरेको दाबी गरेको थियो। त्यसयता दुवै पक्षबीच निरन्तर झडप र हवाई कारबाही भइरहेको छ। पाकिस्तानले अहिले अफगानिस्तानसँग ‘खुला युद्ध’को अवस्था रहेको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like