- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत प्रतिशतको राजनीति अन्त्य गरेर एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
पोखरामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले अब “६०–४०” को भागबण्डाको सोच त्यागेर कांग्रेसलाई शतप्रतिशत एक ढिक्का बनाउनुपर्ने धारणा राखे ।
उनले विशेष महाधिवेशनका क्रममा आफूहरूमाथि गरिएको कारबाहीको प्रसंग स्मरण गर्दै नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठाए । दुई महामन्त्रीमाथि कारबाही गर्दा स्पष्टीकरणसमेत आवश्यक नठानिएको तर जिम्मेवारी बाँडफाँटमा भने फरक व्यवहार देखिएको उनको संकेत थियो ।
शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई समेत पार्टीले जिम्मेवारी दिन थालेको उल्लेख गर्दै कांग्रेस सबैको साझा पार्टी भएको बताए । उनले हाल भएका नियुक्तिहरूको स्वरूप हेर्न आग्रह गर्दै असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास सुरु भएको दाबी गरे ।
कांग्रेसको नीति प्रतिष्ठानले पोखरामा आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका सभापति, कार्यसम्पादन समिति सदस्य, मुख्यमन्त्री, मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको छ ।
सभापति गगन थापासहितको कार्यक्रममा विभिन्न ६ वटा विषयमा समूहगत छलफल हुने जनाइएको छ । उपसभापति शर्माका अनुसार उक्त कार्यक्रमले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीभित्र मनोवैज्ञानिक तयारीको आधार तयार गर्नेछ ।