Saturday, July 18, 2026

‘जनतालाई सेवा कि सास्ती ?’ किसानका गुनासा सुनाउँदै सरकारसँग सांसद ढकालको जवाफ माग


काठमाडौं, २४ असार — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकालले राज्यका निकायहरू नागरिकलाई सेवा दिनभन्दा सास्ती दिन केन्द्रित भएको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

बुधबार प्रतिनिधिसभामा बोल्दै ढकालले प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको टोलीसँगै झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न क्षेत्रमा किसानसँग गरिएको भेटघाटका क्रममा प्राप्त गुनासा संसद्मा प्रस्तुत गरेका हुन्।

उनका अनुसार किसानहरूले उत्पादन बजारसम्म पुर्‍याउँदा ट्राफिक प्रहरीबाट अनावश्यक दुःख पाउने गरेको गुनासो गरेका छन्। माछा, तरकारी वा मौरी पालनसँग सम्बन्धित सामग्री ओसारपसार गर्दा बाटो–बाटोमा नगद रकम दिएर मात्रै सहज रूपमा यात्रा गर्न पाउने अवस्था रहेको किसानहरूले बताएका छन्।

ढकालले मालपोत, नापी तथा यातायात कार्यालयजस्ता सरकारी निकायमा सामान्य सेवा लिन पनि दिनौंसम्म धाउनुपर्ने अवस्था रहेको किसानहरूको भनाइ संसद्मा सुनाए।

उनले तराई क्षेत्रमा चर्को गर्मीका कारण खेतबारी सुक्दै गएको, पर्याप्त रासायनिक मलको अभाव रहेको तथा सिँचाइका लागि आवश्यक विद्युत् आपूर्ति नहुँदा किसान थप समस्यामा परेको अवस्था पनि उल्लेख गरे।

किसानका यस्ता गुनासा प्रस्तुत गर्दै ढकालले सरकारका निकायहरू जनतालाई सहज सेवा दिनका लागि परिचालित छन् कि दुःख दिनका लागि भन्ने प्रश्न उठाए। उनले ऊर्जा, गृह र कृषि मन्त्रालयलगायत सम्बन्धित निकायले यी समस्याको समाधानबारे संसद्मै स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै यही नै जनताको अपेक्षा रहेको बताए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like