Friday, July 17, 2026

अमेरिकाको इरानमाथि नयाँ सैन्य आक्रमण, ट्रम्पको चेतावनी– ‘फेरि आक्रमण भए परिणाम अझ गम्भीर हुनेछ’


काठमाडौं, २५ असार — अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ। आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी जहाजमाथि गरेको पछिल्लो आक्रमणको प्रतिकारस्वरूप यो कारबाही गरिएको बताएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले इरानले पुनः यस्तै गतिविधि दोहोर्‍याए त्यसको परिणाम अझ कडा हुने चेतावनी दिएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानका विभिन्न क्षेत्रमा बुधबार राति शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। स्ट्रेट अफ होर्मुज नजिक रहेका सिरिक, बन्दर अब्बास, कोनारक, चाबहार र जास्कलगायतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ।

सरकारी टेलिभिजनका अनुसार बन्दर अब्बासमा आठ वटा विस्फोट भएका छन् भने सिरिक र जास्क बन्दरगाह क्षेत्रमा दुई वटा क्षेप्यास्त्र खसालेको दाबी गरिएको छ। इरान र संयुक्त अरब इमिरेट्स (यूएई)बीच विवादित अबु मुसा टापुमा पनि दुई वटा आक्रमण भएको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै बन्दर अब्बास क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ।

पूर्ण क्षतिको विवरण आउन बाँकी

अमेरिकी आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। यद्यपि इरानी सञ्चारमाध्यमहरूले चाबहारमा विद्युत् सेवा अवरुद्ध भएको र बुसेहरस्थित इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)को ब्यारेकमा आगलागी भएको बताएका छन्।

इरानी समाचार संस्था आईएसएनएका अनुसार चाबहारमा अवरुद्ध तीनमध्ये दुई वटा विद्युत् लाइन पुनः सञ्चालनमा आएका छन् भने तेस्रो लाइन पनि पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।

इरानले यस आक्रमणबारे औपचारिक प्रतिक्रिया नदिए पनि यसअघि अमेरिकी आक्रमण भए तत्काल प्रतिकार गर्ने चेतावनी दिइसकेको थियो।

अमेरिकाको दाबी– समुद्री मार्ग सुरक्षित राख्न कारबाही

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय समुद्री मार्गमा जहाजहरूको सुरक्षित आवतजावतमा इरानबाट उत्पन्न खतरा कमजोर पार्न यो सैन्य कारबाही गरिएको जनाएको छ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा व्यापारिक जहाज तथा सर्वसाधारण चालक दलमाथि इरानले गरेको पछिल्लो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको कदम भन्दै त्यसको जिम्मेवारी तेहरानले लिनुपर्ने उल्लेख गरेको छ।

ट्रम्प– ‘इरानसँग थप वार्ता गर्नु समयको बर्बादी’

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले अमेरिकासँग पुनः सम्झौता गर्न इच्छा देखाएको दाबी गरे। तर उनीहरूले कुनै पनि सहमति पालना गर्नेमा आफू विश्वस्त नरहेको बताए।

उनले इरानसँग थप वार्ता गर्नु अब ‘समयको बर्बादी’ भएको टिप्पणी गर्दै गत महिना भएको युद्धविराम सम्झौता प्रभावहीन भइसकेको दाबी गरे। अमेरिकाले आवश्यक परे थप कडा सैन्य कारबाही गर्न पनि पछि नहट्ने उनको भनाइ थियो।

इरानको प्रतिक्रिया र खाडी क्षेत्रमा उच्च सतर्कता

ट्रम्पको अभिव्यक्तिपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत इरानले जवाफ शब्दबाट होइन, कार्यबाट दिने बताएका छन्। उनले आफ्नो देशले निर्भीकतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन्।

यसबीच अमेरिकी आक्रमणपछि खाडी क्षेत्रका विभिन्न देशमा सुरक्षा सतर्कता बढाइएको छ। कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ भने बहराइन र कुवेतमा पनि सम्भावित क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like