Monday, March 2, 2026

‘जेन्जी आन्दोलन’ छानबिन अलपत्र, उच्चस्तरीय आयोगको म्याद आज सकिँदै


काठमाडौँ । भदौ २३ र २४ गते सम्पन्न ‘जेन्जी आन्दोलन’ का क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको कार्यअवधि आज समाप्त हुँदैछ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले गठन गरेको उक्त आयोगको म्याद थप्ने विषयमा हाल सरकारभित्र छलफल भइरहेको छ। प्रारम्भमा तीन महिनाको कार्यादेशसहित गठन गरिएको आयोगले तोकिएको समयमा काम पूरा गर्न नसकेपछि एक महिना म्याद थप गरिएको थियो।

आयोगले प्रतिवेदन लेखनको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै थप समय आवश्यक भएको बताएको छ। केही दिनअघि आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी थप दुई साताको समय माग गरेका थिए।

यद्यपि, आन्दोलनका क्रममा प्रदर्शनकारी तथा राज्य पक्षबाट भएको जनधनको क्षतिको मुख्य कारण र दोषी पहिचान गर्ने जिम्मेवारी पाएको आयोगले अपेक्षित प्रगति गर्न नसकेको आरोप लाग्दै आएको छ। जिल्ला भ्रमणका क्रममा राजनीतिक दलका नेताहरूको असन्तुष्टि र विरोधका कारण आयोग फर्किन बाध्य भएको थियो।

यसैबीच, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई प्रारम्भमा स्थानहद लगाइए पनि पछि लिखित बयानपछि ती प्रतिबन्ध फुकुवा गरिएको थियो। उक्त निर्णयपछि आयोगको प्रभावकारितामाथि थप प्रश्न उठ्दै आलोचना तीव्र भएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like