- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीच जारी तनाव अन्त्य गर्ने समझदारीपत्र लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । उनले सम्झौताका बाँकी प्राविधिक तथा राजनीतिक पक्षमाथि छलफल भइरहेको र छिट्टै औपचारिक घोषणा हुने बताएका हुन् ।
मध्यपूर्वका विभिन्न राष्ट्र प्रमुखहरूसँगको टेलिफोन संवादपछि ट्रम्पले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट पुनः सञ्चालनमा आउने विषय पनि समझदारीको हिस्सा बन्ने संकेत दिएका छन् ।
शनिबार ट्रम्पले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेतासँग छलफल गरेका थिए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि छुट्टै संवाद गरेका थिए ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सम्झौताका अन्तिम बुँदाहरूमा छलफल भइरहेको र छिट्टै सार्वजनिक गरिने उल्लेख गरेका छन् ।
यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका–इरान वार्तालाई सहज बनाउन पाकिस्तानले भूमिका खेलिरहेको बताएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि वार्ताको प्रगतिप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यद्यपि, सम्भावित सम्झौताका सर्तबारे अमेरिकी र इरानी पक्षबीच फरक–फरक धारणा सार्वजनिक भएका छन् । अमेरिकी अधिकारीहरूले इरानले उच्च संवर्धित युरेनियम भण्डार त्याग्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन् । तर, इरानी अधिकारीहरूले भने आणविक कार्यक्रमसम्बन्धी विषय आगामी ३० देखि ६० दिनभित्र छुट्टै वार्ताबाट टुंग्याइने बताएका छन् ।
इरानी पक्षका अनुसार प्रस्तावित समझदारीले लेबनानलगायत विभिन्न मोर्चामा युद्ध रोक्ने, होर्मुज स्ट्रेट खुला गर्ने, अमेरिकी नाकाबन्दी हटाउने तथा विदेशमा रोक्का गरिएको इरानको अर्बौं डलर सम्पत्ति फुकुवा गर्ने व्यवस्था समेट्नेछ ।
यसअघि ट्रम्पले युद्धविरामका लागि समय सकिँदै गएको भन्दै इरानलाई चेतावनी दिएका थिए । पछिल्ला दिनमा उनले एकातिर सम्झौता नजिक पुगेको संकेत गर्ने र अर्कोतिर कडा चेतावनी दिने रणनीति अपनाउँदै आएका छन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेका थिए । अप्रिलयता ठूलो स्तरको युद्ध रोकिए पनि अमेरिका अझै इरानका बन्दरगाहमा नाकाबन्दी कायम राखिरहेको छ भने इरानले होर्मुज स्ट्रेट बन्द गर्दै आएको छ ।
सम्झौताबारे अमेरिकाभित्रै पनि विरोध सुरु भएको छ । रिपब्लिकन सिनेटर टेड क्रुजले इरानलाई युरेनियम संवर्द्धन वा आणविक क्षमता विस्तार गर्न दिने कुनै पनि सहमति गम्भीर भूल हुने चेतावनी दिएका छन् ।