- by समाचार कक्ष
- Mar 06, 2025
२ चैत, काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलका सेनाले इरानविरुद्ध आक्रमण तीव्र बनाइरहेका बेला इरानले पनि इजरायल तथा खाडी क्षेत्रका देशहरूमा प्रतिआक्रमण जारी राखेको छ।
यसबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले इरानसँग वार्ता गरिरहेको भए पनि तेहरान हालसम्म युद्ध अन्त्य गर्ने सहमतिका लागि तयार नभएको बताएका छन्। साथै उनले अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण जलमार्ग होर्मुज जलडमरु पुनः सञ्चालनमा ल्याउन उत्तर एटलान्टिक सन्धि संगठनका सहयोगी राष्ट्रहरूसँग सहयोगको माग गरेका छन्।
ट्रम्पको यस आग्रहपछि अस्ट्रेलियाले भने होर्मुज जलडमरु क्षेत्रमा युद्धपोत नपठाउने स्पष्ट पारेको छ। अस्ट्रेलियाकी यातायात मन्त्री क्याथरिन किङले अस्ट्रेलियाली प्रसारण संस्थासँगको अन्तर्वार्तामा आफ्नो देशको भूमिका युएईमा रहेका नागरिकहरूको सुरक्षासँग सम्बन्धित रहेको बताइन्।
उनका अनुसार त्यस क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै रक्षात्मक सहयोगका लागि अस्ट्रेलियाले विमान उपलब्ध गराइरहेको छ। तर होर्मुज जलडमरुमा नौसैनिक जहाज पठाउने योजना भने नरहेको उनले स्पष्ट पारिन्।
यसैबीच जापानले पनि होर्मुज जलडमरु हुँदै आवतजावत गर्ने तेल बोक्ने जहाजहरूलाई सुरक्षा प्रदान गर्न नौसैनिक जहाज पठाउने कुनै योजना नरहेको जनाएको छ। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसद्मा बोल्दै टोकियोले त्यस्तो निर्णय नगरेको र कानुनी दायराभित्र रहेर सम्भावित विकल्पहरूबारे निरन्तर अध्ययन गरिरहेको जानकारी दिइन्।
विश्वको करिब पाँचौँ हिस्सा तेल आपूर्ति हुने यो महत्वपूर्ण जलमार्गको सुरक्षाका लागि ट्रम्पले सहयोगी राष्ट्रहरूसँग लगातार सहयोग मागिरहेका बेला जापान र अस्ट्रेलियाको यस्तो धारणा सार्वजनिक भएको हो।
उता इरानले यो साँघुरो जलडमरु क्षेत्रमा प्रभावकारी रूपमा नाकाबन्दी गरेको बताइएको छ।
यसै सन्दर्भमा प्रधानमन्त्री ताकाइची ट्रम्पसँग थप छलफलका लागि यही साताको अन्त्यतिर वासिङ्टन डीसी जाने अपेक्षा गरिएको छ।