- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ भोटेकोशीस्थित हेली रिसोर्टमा युवतीसहित बसेको घटनासँग जोडिएको प्रहरी गतिविधिले अहिले अनेक विवाद जन्माएको छ । रिसोर्टबाट सीसीटीभी उपकरण र कर्मचारीका मोबाइल नियन्त्रणमा लिएको घटनामा प्रहरीको कार्यक्षेत्र मिचिएको र व्यक्तिगत गोपनीयताको हक उल्लंघन भएको आरोप उठेको हो ।
रिसोर्टका कर्मचारीका अनुसार आफूहरूलाई ‘सिआईबीबाट आएको टोली’ भन्दै प्रहरी त्यहाँ पुगेको थियो । तर पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले उक्त टोली आफ्नै मातहतको भएको बताएका थिए ।
घटना सिन्धुपाल्चोकमा भएको भए पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई त्यहाँ अनुसन्धान गर्ने अधिकार नरहेको प्रहरी स्रोत बताउँछ । यद्यपि, गुण्डागर्दी नियन्त्रण पिलरका इन्स्पेक्टर गणेश जोशीको नेतृत्वमा टोली दुई पटक रिसोर्ट पुगेको जानकारी सीमा प्रहरी कार्यालय, तातोपानीका कर्मचारीहरूले दिएका छन् ।
सीमा प्रहरीका एक कर्मचारीका अनुसार यदि टोली वास्तवमै सिआईबीको भएको भए आवश्यक समन्वय र सहयोग गर्ने तयारी थियो । तर पछि टोली अन्य कार्यालयबाट आएको थाहा पाएपछि जिल्लाबाट ‘नदेखेजस्तो गर्न’ निर्देशन आएको दाबी गरिएको छ ।
सिआईबीका एक अधिकारीले पनि सिन्धुपाल्चोक पुगेको टोली आफ्नो कार्यालयसँग सम्बन्धित नभएको बताएका छन् । उनले अन्य युनिटका प्रहरी कर्मचारीले सिआईबीको नाम प्रयोग गर्नु नियमविपरीत हुने उल्लेख गरे ।
उक्त टोलीले रिसोर्ट व्यवस्थापनसँग पूर्वगृहमन्त्री सुधन गुरुङ बसेको दिनको सीसीटीभी फुटेज मागेको थियो । तर रिसोर्टले ३० दिनभन्दा पुरानो रेकर्ड सुरक्षित नरहेको जवाफ दिएको बताइएको छ । रिसोर्ट पक्षका अनुसार सो दिन कुनै आपराधिक घटना भएको थिएन ।
यस घटनाले पूर्वगृहमन्त्री गुरुङको निजी जीवन र गोपनीयताको अधिकारमाथि हस्तक्षेप भएको बहससमेत सुरु भएको छ । रिसोर्टका एक कर्मचारीले प्रहरीले अनुसन्धानको स्पष्ट आधार नखुलाइकन गोप्य सामग्री नियन्त्रणमा लिएको आरोप लगाए ।
जफत गरिएका सीसीटीभी र मोबाइलका डाटा पुनः प्राप्त गर्न सामग्रीलाई डिजिटल फरेन्सिक ल्याब पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
यसबीच, प्रहरी संगठनभित्र पनि कार्यक्षेत्रभन्दा बाहिर गएर गरिएको कारबाहीबारे आन्तरिक छानबिन सुरु भएको बताइएको छ । प्रहरी उच्च स्रोतका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।