- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा धार्मिक पर्यटन, कृषि आत्मनिर्भरता र खानी उत्खननलाई विशेष प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । बुधबार संघीय संसद् सचिवालयमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले बजेटलाई योजनाबद्ध र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा सम्बन्धी छलफलका क्रममा सांसद घिमिरेले विभिन्न मन्त्रालयका प्रतिनिधिहरूलाई ठोस कार्यक्रमसहित नीति निर्माण गर्न सुझाव दिएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति तथा कार्यक्रममा बोल्दै उनले नेपाललाई ‘देवभूमि’ बनाउने सरकारको अवधारणा सकारात्मक भए पनि रसुवाको गोसाइकुण्डलाई छुटाउन नहुने बताए । उनका अनुसार चारधाममध्ये एक मानिने गोसाइकुण्डलाई बजेटमा समेट्नुपर्नेछ । साथै स्वर्गद्वारी, खप्तड र दाङको धारपानीजस्ता धार्मिक क्षेत्रलाई जोडेर धार्मिक सर्किट विकास गर्नुपर्ने उनको प्रस्ताव छ । उनले लुम्बिनी क्षेत्रको देउखुरीमा विमानस्थल निर्माणका लागि पनि बजेट व्यवस्था गर्न माग गरे ।
कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा उनले आयात प्रतिस्थापनलाई मुख्य लक्ष्य बनाउनुपर्ने बताए । नेपाल दूध र मासुमा आत्मनिर्भर भइसकेको दाबी गर्दै उनले यस्ता वस्तुको आयात पूर्ण रूपमा रोक्नुपर्ने धारणा राखे । फलफूल खेतीमा अनुदान दिए एक वर्षमै आत्मनिर्भर बन्न सकिने उनको भनाइ थियो । साथै, चुरे संरक्षणमा पर्याप्त बजेट विनियोजन गर्न र स्वदेशी काठ प्रयोगमा रहेका कानुनी अवरोध हटाउनुपर्ने सुझाव पनि दिए ।
युवा तथा रोजगारसम्बन्धी विषयमा सांसद घिमिरेले वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति आवश्यक रहेको बताए । सरकारले ८० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ ।
उद्योग तथा आपूर्ति क्षेत्रबारे बोल्दै उनले दैलेखको पेट्रोलियम र नवलपरासीको फलाम खानीलाई प्राथमिकतामा राखी उत्खनन कार्य अघि बढाउन आग्रह गरे । यस्ता परियोजनाले दीर्घकालीन रूपमा देशको अर्थतन्त्र सुदृढ बनाउन मद्दत गर्ने उनले बताए ।