- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसम्बन्धी दुई वटा संशोधन विधेयक दर्ता भएका छन् । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ संसद्मा दर्ता गराएका छन् भने गृहमन्त्रीको तर्फबाट मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ पनि अघि बढाइएको छ ।
प्रधानमन्त्रीको हैसियतमा दर्ता गरिएको निर्वाचनसम्बन्धी विधेयकले समानुपातिक निर्वाचन प्रणालीमा जनसंख्याको आधार अद्यावधिक गर्ने उद्देश्य राखेको छ । संविधानको व्यवस्था अनुसार विभिन्न जातीय तथा समुदायगत समूहको प्रतिनिधित्व सुनिश्चित गर्न २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई आधार बनाएर प्रतिशत समायोजन गर्ने प्रस्ताव गरिएको छ ।
विधेयकमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा अन्य समुदायको जनसंख्याको अनुपातअनुसार समानुपातिक प्रतिनिधित्व कायम गर्ने व्यवस्था परिमार्जन गर्ने उल्लेख छ ।
त्यस्तै, मतदाता नामावली (पहिलो संशोधन) विधेयकले यसअघि अध्यादेशमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिने उद्देश्य राखेको छ । आगामी निर्वाचनका लागि छुट भएका मतदातालाई समेट्न ल्याइएको अध्यादेशलाई स्थायी कानुनी स्वरूप दिन यो विधेयक अघि बढाइएको हो ।
निर्वाचन प्रणालीसँग सम्बन्धित विधेयक आजै प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्तुत गरिएको छ ।