- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी १ असारदेखि सुरु गर्ने तयारी गरेको छ । यस सम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार आवश्यक फाइल तयार भइसकेको र केही दिनभित्र औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै सार्वजनिक भएकाले कक्षा ११ को अध्ययन पनि समयमै सुरु गर्न लागिएको हो ।
यस वर्ष एसईईको नतिजा २९ दिनमै सार्वजनिक गरिएको थियो । २८ वैशाखमा नतिजा आएपछि विद्यालयहरूले अहिले विद्यार्थी भर्ना प्रक्रिया तीव्र बनाएका छन् । मन्त्रालयले शैक्षिक सत्र ढिला हुन नदिन र विद्यार्थीको पढाइलाई नियमित बनाउन यो कदम चालिएको जनाएको छ ।
सामुदायिक तथा निजी विद्यालयहरूले पनि १ असारदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी थालेका छन् । यद्यपि यस वर्षको शैक्षिक सत्र १५ वैशाखबाट ढिलोगरी सुरु भएको भए पनि विद्यार्थीको सिकाइमा असर नपर्ने गरी सरकारले विभिन्न योजना अघि सारेको छ ।
यसअन्तर्गत हिउँदे र वर्षे बिदा कटौती गर्ने तथा शुक्रबारसमेत पूरा समय कक्षा सञ्चालन गर्ने योजना बनाइएको मन्त्रालयले जनाएको छ ।