- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १० फागुन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाको उपचारका लागि विशाल अस्पताल जहाज पठाइएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत त्यहाँका धेरै नागरिक बिरामी परेको र आवश्यक स्वास्थ्य सेवा अभाव रहेको दाबी गर्दै उक्त कदमलाई मानवीय सहयोगका रूपमा प्रस्तुत गरेका हुन्।
यस निर्णयले डेनमार्कसँगको कूटनीतिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको विश्लेषण गरिएको छ। उक्त पहल लुजियानाका गभर्नर तथा ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूत जेफ ल्यान्ड्री सँगको समन्वयमा अघि बढाइएको बताइएको छ।
यसअघि पनि ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने चाहना व्यक्त गर्दै आएका थिए। उनले ग्रिनल्याण्ड नदिइए डेनमार्कमाथि कडा भन्सार शुल्क लगाउने चेतावनीसमेत दिएका थिए।
डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले भने “ग्रिनल्याण्ड बिक्रीका लागि होइन” भन्दै यस्तो प्रस्ताव अस्वीकार गर्दै आएका छन्। अस्पताल जहाज पठाउने विषयमा आवश्यक अनुमति लिइएको हो वा होइन भन्नेबारे डेनमार्कले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
विश्लेषकहरूले यस घटनालाई ग्रिनल्याण्डमा अमेरिकी प्रभाव विस्तार गर्ने नरम कूटनीतिक रणनीतिका रूपमा हेरेका छन्। यसअघि ग्रिनल्याण्ड नियन्त्रणका विषयमा बल प्रयोगको संकेत दिइएपछि उत्तर एटलान्टिक सन्धि संगठनका सहयोगी राष्ट्रहरूबीच चासो र बहस बढेको थियो।