Thursday, April 16, 2026

गोरखामा सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा ल्याउने गण्डकी सरकारको निर्णय


पोखरा-गण्डकी प्रदेश सरकारले गोरखा जिल्लाको छेपेटारमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त आश्रम सञ्चालन गर्ने औपचारिक निर्णय गरेको सरकारका प्रवक्ता डा. टकराज गुरुङले जानकारी दिएका छन्।

गोरखा नगरपालिका-१० छेपेटारमा यसअघि नै प्रदेश सरकारको लगानीमा सुविधासम्पन्न भवन निर्माण सम्पन्न भइसकेको छ। २०७६ साल भदौ १ गते सम्झौता भई सुरु गरिएको उक्त परियोजना आसिस इको जेभीले पटक-पटक म्याद थप गर्दै अघिल्लो वर्ष निर्माण सम्पन्न गरेको हो।

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त संरचनामा तीन वटा भवन रहेका छन्। प्रशासनिक कार्यका लागि छुट्टै कार्यालय भवन निर्माण गरिएको छ भने ज्येष्ठ नागरिकका लागि तयार गरिएको मुख्य भवनमा २४ कोठा र एक सभा हल समावेश छन्। साथै, सुरक्षाकर्मीका लागि एक कोठे छुट्टै संरचना पनि निर्माण गरिएको छ।

केही कोठाहरूमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको छ। करिब ४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनसम्म पुग्ने करिब २०० मिटर सडक कालोपत्रे तथा ढलान गरिएको छ।

प्रदेश सरकारले यही संरचनालाई ज्येष्ठ नागरिक आश्रमका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like