- by समाचार कक्ष
- Mar 06, 2025
९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफ्ना नजिकका नेताहरूसँग परामर्श गरेपछि उक्त निर्णयमा पुगेका हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका भट्टराईले आजै वारेसनामामार्फत औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन्। उनका सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले अभिभावकीय भूमिका निर्वाह गर्दै सहजीकरण गर्न आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
भट्टराई यसअघि पनि गोरखा–२ बाट निर्वाचित भइसकेका नेता हुन्। २०७९ को निर्वाचनमा उनले प्रचण्डलाई समर्थन गर्दै आफू उम्मेदवारी नदिने घोषणा गरेका थिए। यसपटक पनि चुनाव नलड्ने बताएका भट्टराई मनोनयन दर्ताको दुई दिनअघि मात्र निर्णय परिवर्तन गर्दै गोरखा पुगेका थिए।
उम्मेदवारी फिर्तापछि उनले कसलाई समर्थन गर्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन्।
गोरखा-२ मा हाल नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन), राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।