Monday, March 2, 2026

उम्मेदवारी फिर्तापछि बाबुरामको सन्देश: ‘देशले आवश्यक ठानेको नेतृत्वलाई सघाउँछु’


९ माघ, काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि आगामी निर्वाचनमा देशको आवश्यकता अनुसारको व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार उम्मेदवारी फिर्ताको औपचारिक घोषणा गर्दै भट्टराईले आफू निरन्तर जनताको सेवामा सक्रिय रहने बताए। “आगामी दिनमा देशले चाहेको नेतृत्वलाई सघाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” उनले भने, “मलाई प्रस्तावक र समर्थक बनेर साथ दिनु भएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

भट्टराईका अनुसार विभिन्न राजनीतिक दल र व्यक्तिहरूको सुझावपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। उनले अहिलेको राजनीतिक अवस्था तरल र अनिश्चित रहेकाले प्रत्यक्ष चुनावी प्रतिस्पर्धाभन्दा बाहिर रहेर साझा र अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुने सुझाव आएको बताए।

“देशको वर्तमान अवस्था अझै स्पष्ट दिशामा पुगेको छैन। यस्तो अवस्थामा चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा परामर्श र मार्गदर्शनको भूमिकामा रहनु उपयुक्त हुने सुझाव धेरै दल र नेताहरूबाट आयो,” भट्टराईले स्पष्ट पारे।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने आफ्नो दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै उनले देशमा देखिएका चुनौतीहरूको व्यवस्थापन, तीव्र आर्थिक विकास र समृद्धिको आधार निर्माणमा सबै दललाई बाहिरबाट सघाउने निर्णय गरेको बताए।

भट्टराईलाई उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक रूपमा आग्रह गरेको थियो। रास्वपाले गोरखा–२ मा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट निर्वाचनमा सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए।

यसपटक प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। स्रोतका अनुसार प्रचण्डले पनि डा. भट्टराईलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like