- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाउने तयारीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा हटाएर प्रधानन्यायाधीशले प्रत्यक्ष रूपमा पेशी तोक्ने व्यवस्था ल्याइए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिन सक्ने दाबी गरे।
उनले अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने विषय चर्चामा रहेको उल्लेख गर्दै त्यसो भए सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी दिए। मिश्रले न्यायपालिकाको स्वतन्त्रता कायम राख्न गोलाप्रथा प्रणाली आवश्यक रहेको धारणा राखे।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाउँदै उनले संवैधानिक परिषदमार्फत प्रधानमन्त्री निकट व्यक्तिलाई प्राथमिकता दिने अभ्यास विकसित भएको टिप्पणी गरे। प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिले नै प्रधानन्यायाधीश बन्ने प्रवृत्ति बढेको हो कि भन्ने आशंका समेत उनले व्यक्त गरे।
सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को आरोप लगाएर संगठित रूपमा दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि उनले लगाए।
मिश्रले अहिले न्यायपालिका जटिल अवस्थाबाट गुज्रिरहेको भन्दै यस्तो समयमा कानून व्यवसायीहरूले आफ्नो विवेक गुमाउन नहुने बताए। न्यायपालिकालाई बलियो बनाउने जिम्मेवारी वकिलहरूको पनि रहेको उनको भनाइ थियो।