Monday, June 1, 2026

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु देखिएपछि संक्रमण नियन्त्रणका लागि ती क्षेत्रमा रहेका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ ।

संक्रमित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा तथा दाना सुरक्षित तरिकाले नष्ट गरी खाल्डोमा गाड्ने र प्रभावित क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

रोग थप फैलिन नदिन पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ । प्रवेश गर्नै परे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाले खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न पनि कृषकलाई आग्रह गरेको छ ।

त्यसैगरी, पन्छी फार्म क्षेत्रमा कुकुर, बिरालो र मुसाजस्ता जनावरको प्रवेश रोक्न तथा मरेका पन्छीलाई सुरक्षित रूपमा गाड्न अनुरोध गरिएको छ । पन्छीजन्य उत्पादन ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र अनिवार्य लिनुपर्ने र मासु तथा अण्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न पनि सर्वसाधारणलाई सुझाव दिइएको छ ।

यदि कुनै क्षेत्रमा ठूलो संख्यामा पन्छी बिरामी पर्ने वा मर्ने घटना देखिएमा तत्काल नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like