- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सार्वजनिक फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन्। उनले पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन नेपाल पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गर्न सकिने प्रस्ताव पनि अघि सारेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै मेयर आचार्यले पुनलाई हालै सम्पन्न निर्वाचनमा अत्यधिक मतसहित विजयी भएकोमा बधाई दिएका छन्। साथै उनले पुनले अघि बढाइरहेको नवप्रवर्तन तथा अनुसन्धान अभियानप्रति सम्मान व्यक्त गरेका छन्।
मेयर आचार्यका अनुसार पुनले अनुसन्धान र नवप्रवर्तनका लागि सहयोग जुटाउन देशका विभिन्न स्थानमा पुगेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाउने प्रयास प्रशंसनीय छ। तर आवश्यक दर्ता वा अनुमति बिना सार्वजनिक स्थानमा पुस्तक बिक्री गर्दा कानुनी समस्या उत्पन्न हुन सक्ने उनले उल्लेख गरेका छन्।
उनले पछिल्ला दिनहरूमा सडक किनारमा उभिएर पुस्तक बिक्री गर्दा यातायात व्यवस्थापनमा असहजता आउने र अनावश्यक विवादसमेत देखिन थालेको बताए। यस्तो अवस्था पुनजस्तो सम्मानित सार्वजनिक व्यक्तित्वका लागि उपयुक्त नहुने उनको भनाइ छ।
मेयर आचार्यले देशभर झण्डै १८ हजार पुस्तक व्यवसायी दर्ता भएर पुस्तक बिक्री–वितरणमा संलग्न रहेको उल्लेख गर्दै महासंघमार्फत पुनलाई उपयुक्त स्थान उपलब्ध गराएर पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन सकिने बताएका छन्।
“यदि तपाईं पोखरा आउने समय मिलाउनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराएर पुस्तक बिक्री–वितरणलाई सहज बनाउन सकिन्छ,” आचार्यले फेसबुक सन्देशमार्फत आग्रह गरेका छन्।
साथै, हालसम्म कति पुस्तक बिक्री भएको भन्ने विवरण सार्वजनिक गर्न सके पारदर्शिता बढ्नुका साथै करसम्बन्धी सम्भावित जिज्ञासाहरू समाधान गर्न पनि सहयोग पुग्ने उनले बताएका छन्।