- by समाचार कक्ष
- Mar 06, 2025
डडेल्धुरा । डडेल्धुरामा बन्दुकसँग फोटो खिच्ने क्रममा भएको दुर्घटनामा एक किशोरको ज्यान गएको छ।
मंगलबार साँझ परशुराम नगरपालिका-२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा अचानक बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार दुई जना किशोरले बन्दुक समातेर फोटो खिच्ने क्रममा घटना भएको हो।
बैतडीको शिवनाथ गाउँपालिका–४ स्थायी घर भएका महरा हाल आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि जोगबुढा अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले परीक्षणपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले घटनासँग सम्बन्धित रहेको आशंकामा परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका-४ का अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गरेको छ भने घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।