- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २७ फागुन । राजधानी काठमाडौंमा वायुको गुणस्तर अझै सुधार हुन सकेको छैन। मंगलबार अत्यन्तै खराब अवस्थामा पुगेको वायु प्रदूषण बुधबार बिहान पनि निकै अस्वस्थ तहको नजिकै रहेको देखिएको छ।
रियल–टाइममा वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित संस्था आईक्यू एयरका अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १९६ पुगेको छ। सामान्यतया AQI १५० नाघेपछि वायु अस्वस्थ मानिन्छ भने २०० पुगेपछि ‘निकै अस्वस्थ’ स्तरमा पुग्छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर मापदण्डअनुसार AQI ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगे खतरनाक मानिन्छ।
हालको प्रदूषण स्तरका कारण काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये चौथो स्थानमा रहेको छ। यो सूचीमा भारतको दिल्ली पहिलो, पाकिस्तानको लाहोर दोस्रो र बंगलादेशको ढाका तेस्रो स्थानमा रहेका छन्।
वायु प्रदूषण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। विशेषगरी बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि सुझाव दिइएको छ।