- by समाचार कक्ष
- Mar 06, 2025
४ फागुन, काठमाडौं। श्रद्धा श्रेष्ठ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन सफल बनाउन सरकारसँगै निर्वाचन आयोग, राजनीतिक दल तथा नागरिक समाजका संस्थाहरू तीव्र गतिमा तयारीमा जुटेको स्पष्ट पारिन्। वर्तमान सरकारको प्रमुख जिम्मेवारी नै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गर्नु रहेको उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले निर्वाचन प्रक्रियामा आम मतदाताको सक्रिय र जिम्मेवार सहभागिता सुनिश्चित गर्न मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिँदै सबै नागरिकलाई त्यसमा सहभागी हुन आग्रह गरिन्। उनका अनुसार आयोगले आइतबारदेखि औपचारिक रूपमा मतदाता शिक्षा अभियान सञ्चालनमा ल्याइसकेको छ।
महिला मतदाताको सहभागिता वृद्धि गर्ने विषयमा पनि सरकारले आवश्यक वातावरण सिर्जना गरिरहेको उनले उल्लेख गरिन्। निर्वाचनलाई विश्वसनीय र सहभागीमुखी बनाउन सम्बन्धित सबै निकाय समन्वयात्मक रूपमा अघि बढिरहेको मन्त्री श्रेष्ठको दाबी छ।