- by समाचार कक्ष
- Mar 06, 2025
२२ चैत, काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई चेतावनी दिएका छन्। उनीहरूले ७ दिनभित्र एन्फाले आफ्नो निर्वाचन प्रक्रिया पुनः सुरु गरी सुनिश्चित नगरेमा निलम्बन प्रक्रिया अगाडि बढाइने बताए।
शनिबार एन्फा महासचिव किरण राईलाई पठाइएको संयुक्त पत्रमा भनिएको छ, “यदि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन निर्णय खारेज गरेन वा एन्फाले ७ दिनभित्र आफ्नो निर्वाचन पूर्व अवस्थामा फर्काएर लिखित रूपमा पुष्टि गरेन भने, एन्फालाई तत्काल निलम्बनको लागि फिफा काउन्सिलमा पेश गरिनेछ।”
पत्रमा राखेपको निलम्बनले एन्फालाई स्वतन्त्र रूपमा चुनाव सञ्चालन गर्न रोक लगाएको उल्लेख छ। निलम्बन भएमा एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, फिफा तथा एएफसी विकास कोषको पहुँच र अन्य सदस्य संघसँग खेलकुद सम्बन्ध कायम राख्न असमर्थ हुनेछ।
राखेपले एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो र त्यसपछि एन्फाले चैत १३ गते तय गरिएको निर्वाचन स्थगित गरेको थियो।