Thursday, April 16, 2026

सम्पत्ति शुद्धीकरणको कारबाहीले बजार धसियो: नेप्से १०५ अंकले घट्यो


काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुग्दा बजार मूल्य एकै दिनमा १ खर्ब ७९ अर्ब रुपैयाँले कम भएको छ।

बजार खुल्ने बित्तिकै ओरालो सुरु भएको गिरावट दिनभर कायम रह्यो र लगानीकर्ताहरूमा निराशा छाएको थियो। कारोबार रकम पनि घट्दै ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा कुल १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बजारमा २६१ कम्पनीको सेयर मूल्य घटेको छ, जबकि केवल ७ कम्पनीको मूल्यमा वृद्धि देखियो। केही साना कम्पनीमा भने सकारात्मक सर्किट लाग्दा लगानीकर्ताहरूले लाभ पाए। यी कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्योदय हाइड्रोपावर रहेका छन्।

त्यसैगरी नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स कम्पनी, भुगोल इनर्जी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भी इनर्जीमा नकारात्मक सर्किट लाग्दा लगानीकर्तामा चिन्ता बढेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ, यस कम्पनीको ५८ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी शिवम् सिमेन्टको ४५.१७ करोड, ङादी ग्रुप पावरको ४२.०३ करोड र नेशनल हाइड्रोपावरको ३६.७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बजारमा भारी गिरावटको कारण सरकारद्वारा व्यवसायीमाथि चलाइएको सम्पत्ति शुद्धीकरण कारबाहीलाई ठहरिएको छ। कारोबार सुरु भएदेखि पहिलो तीन घण्टामा परिसूचकले १०० अंकभन्दा बढीको करेक्सन लिएको थियो र दिनको अन्त्यसम्म बजार थप ओरालो लाग्यो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like