Thursday, September 4, 2025

एससीओ शिखर सम्मेलनमा साझा एजेन्डा : आतंकवाद, व्यापार र वैकल्पिक शक्ति सन्तुलन


१६ भदौ, काठमाडौं — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका छन्, जहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङरूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

शिखर सम्मेलनअघि आयोजित औपचारिक फोटो सेसनमा तीन नेताहरू हात समाउँदै उभिएका थिए भने प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई अंकमाल समेत गरे।

यसअघि, आइतबार, मोदी र सी जिनपिङबीच द्विपक्षीय वार्ता भएको थियो, जसमा व्यापार, सुरक्षा, आतंकवाद लगायतका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति जिनपिङले यस वर्ष सदस्य राष्ट्रहरूलाई २ अर्ब युआन (करीब २८१ मिलियन अमेरिकी डलर) अनुदान दिने घोषणा गरे। उनले यो रकम सदस्य राष्ट्रहरूको आर्थिक विकास र आवश्यकताहरू पूरा गर्न प्रयोग गरिने बताए। उनले संगठनले आतंकवाद, उग्रवाद र अलगाववादको विरुद्ध स्पष्ट प्रतिबद्धता जनाउने पनि उल्लेख गरे।

अमेरिकाले एससीओ सदस्य राष्ट्रहरूमा लगाउँदै आएको उच्च भन्सार शुल्क र अन्य दबाबहरूको सन्दर्भमा, चीनका राष्ट्रपति जिनपिङ यस सम्मेलनलाई अमेरिकी नेतृत्वमा आधारित वैश्विक प्रणालीको विकल्पका रूपमा प्रस्तुत गर्न खोजिरहेको विश्लेषण गरिएको छ। चीन, भारत, रूस, इरानजस्ता देशहरू मिलेर वैकल्पिक शक्ति सन्तुलनको निर्माण गर्न सक्ने सम्भावना पनि देखिएको छ।

यस पटकको सम्मेलनमा सदस्य राष्ट्रहरूबाहेक पर्यवेक्षक र साझेदार देशहरू गरी २० भन्दा बढी देशका नेताहरूको सहभागिता रहेको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स (पूर्व ट्विटर)’ मा सम्मेलनका विभिन्न क्षणहरूका तस्वीरहरू सेयर गर्दै लेखेका छन्, “थियानजिनमा भेटघाट जारी छ। एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति शीसँग विचार आदानप्रदान भइरहेको छ।”

शिखर बैठकका क्रममा प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज़्जू, इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबाउली, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, कजाखस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेव, र म्यानमारका वरिष्ठ जनरल मिन आङ हलाइङसँग पनि भेट गरेका छन्।

यी भेटवार्तामा व्यापार, ऊर्जा, सुरक्षा, तथा क्षेत्रीय सहकार्यका विषयमा व्यापक छलफल भएको बताइएको छ। नेताहरूले आफ्नो अनुभव र तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like