Thursday, September 4, 2025

डा. गोविन्द केसी आजदेखि गेटा मेडिकल कलेजमा सत्याग्रहमा


१६ भदौ, काठमाडौं ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा. डा. गोविन्द केसी आजदेखि गेटा मेडिकल कलेज, धनगढीमा सत्याग्रह सुरु गर्न लागेका छन्। उनले दिउँसो १२:३० बजे पत्रकार सम्मेलन गर्दै आफ्नो आन्दोलनको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार सत्याग्रह आज १ बजेदेखि सुरु हुनेछ।

चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएस तहमा १,३५९ सिट थपेर कुल सिट संख्या २,६३५ पुर्‍याउने र बीडीएस (दन्त चिकित्सक) को सिट ६२५ पुर्‍याउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध डा. केसीले आवाज उठाउँदै आएका थिए। माग सम्बोधन नभएपछि उनी सत्याग्रहमा उत्रन लागेका हुन्।

डा. केसीको माग छ—सिट वृद्धि सरकारी मेडिकल कलेजहरूमा हुनुपर्छ, निजी मेडिकल कलेजहरूमा होइन। उनले निजी मेडिकल कलेज सञ्चालकहरूको आर्थिक स्वार्थमा निर्णय गरिएको भन्दै सरकारको आलोचना गरेका छन्।

विज्ञहरूका अनुसार निजी कलेजमा सिट संख्या वृद्धि हुँदा शिक्षाको गुणस्तर खस्कने खतरा छ। उनीहरू भन्छन्—गुणस्तरीय शिक्षा नभएमा दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन, जुन चिकित्सा शिक्षाको मूल उद्देश्यसँगै प्रतिकूल हुन्छ।

यता, प्रधानमन्त्री स्वयं निजी मेडिकल कलेज सञ्चालकहरूलाई लाभ हुने गरी सक्रिय भएको आरोप पनि विज्ञ तथा आलोचकहरूले लगाएका छन्।

डा. गोविन्द केसीले यसअघि पनि चिकित्सा शिक्षा सुधारका लागि २० भन्दा बढी पटक आमरण अनशन तथा सत्याग्रह गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like