काठमाडौं । गृह मन्त्रालयमार्फत उपलब्ध गराइएका सरकारी सवारी साधन एक पूर्वराष्ट्रपति र चार पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको तथ्य सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई सरकारी गाडी उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयअन्तर्गतको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मन्त्रालयबाट उपलब्ध गराइएका दुई वटा गाडी प्रयोग गरिरहेका छन्।
यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले पनि मन्त्रिपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयबाट उपलब्ध गराइएका एक/एक वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन्।
सरकारी गाडी प्रयोगबारे विवरण माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही अनुरोधअनुसार मन्त्रालयले सम्बन्धित भीभीआईपीहरूको विवरण प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयले मागेको विवरण पठाइएको पुष्टि गरेका छन्। यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत प्रयोग भइरहेको सरकारी गाडी बुधबार प्रधानमन्त्री कार्यालयलाई फिर्ता गरेका थिए।