- by समाचार कक्ष
- Mar 06, 2025
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको जनाएको छ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनी का अनुसार प्राविधिक समस्या नआएमा मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। उनले सबै तयारी पूरा भइसकेको बताउँदै नतिजा प्रकाशनमा ढिलाइ नहुने विश्वास व्यक्त गरिन्।
यस वर्ष एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन गरिएको थियो। परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।
यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ विद्यार्थी रहेका छन्।
लैङ्गिक तथ्याङ्कअनुसार परीक्षामा छात्राभन्दा छात्रको सङ्ख्या अलि बढी छ। कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य सात जना सहभागी भएका थिए।
यस वर्ष ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए। साथै, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको व्यवस्था पनि लागू गरिएको बोर्डले जनाएको छ।