- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीलाई कमजोर पार्न देशभित्र र बाहिरबाट विभिन्न षड्यन्त्र भइरहेको चेतावनी दिएका छन्। काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवादमा बोल्दै उनले भने, ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री एकता जरूरी छ। यदि भित्री रूपमा कमजोर भयौं भने बाह्य षड्यन्त्र हावी हुन्छ। हामी आन्तरिक रूपमा बलियो र सुदृढ बन्न चाहन्छौँ।’
पोखरेलले विगतको आत्मसमीक्षा गरेर चुनावमा होमिएको र काठमाडौं उपत्यकामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। उनले एमालेले यस पटक फरक ढङ्गले चुनावी घोषणा पत्र प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि दिए।
उनका अनुसार घोषणापत्रमा राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान, सामाजिक सद्भाव, विकास निर्माण, भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगार जस्ता विषय समेटिनेछन्। उनले स्पष्ट पारे, ‘संविधान संशोधनसम्बन्धी प्रस्तावहरू पनि घोषणापत्रमा समेटिनेछन्। यसपटक हामी कुन काम, कहिले र कसरी गर्ने भन्ने कुरा पूर्णरूपमा खुलाएर प्रस्तुत गर्नेछौं।’
पोखरेलले एमालेभित्र आन्तरिक एकता सुदृढ बनाएर पार्टीलाई सबै चुनौती र षड्यन्त्रबाट सुरक्षित राख्ने प्रतिबद्धता दोहोर्याए।