- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि शीघ्र फैसला हुनुपर्ने बताएका छन्। उनले उक्त विषयबाट सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नहुने धारणा व्यक्त गरेका छन्।
काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै बस्नेतले बारम्बार पेसी सर्दै जानु गम्भीर विषय भएको बताए। उनले सर्वोच्च अदालतको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रधानन्यायाधीशको कार्यशैलीमाथि प्रश्न उठाए।
बस्नेतले भने, ‘आज पनि पेसी चढ्ने अपेक्षा थियो तर फेरि सारियो। प्रधानन्यायाधीश बिरामी परेको बहानामा सम्पर्कविहीन हुने, फोन अफ गर्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको छ।’ उनले यस्तो अवस्थाले देशको न्यायिक प्रणाली नै संकटमा परेको अनुभूति गराएको दाबी गरे।
उनका अनुसार संसद् पुनर्स्थापना भए निर्वाचनको नाममा भइरहेका गतिविधि र खर्च निरर्थक हुने भएकाले यस विषयमा ढिलाइ नगरी फैसला हुन आवश्यक छ। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले ढुक्कसँग निर्वाचन प्रक्रियामा अघि बढ्न नसकिएको पनि उनले बताए।