Monday, March 2, 2026

एक महिनामै एमाले त्यागेका जितेन्द्रनारायण देव पुनः कांग्रेसमा: ‘गगन थापाको नेतृत्वमा नयाँ अभियान’


काठमाडौं। गत महिना नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री तथा पूर्वसंविधानसभा सदस्य जितेन्द्रनारायण देव पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू औपचारिक रूपमा कांग्रेसमा पुनरागमन गरेको घोषणा गरेका हुन्।

जारी विज्ञप्तिमा उनले गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै आफू र आफ्ना समर्थकहरू आजैदेखि कांग्रेसमा सक्रिय हुने बताएका छन्। लामो समयदेखि साथ दिँदै आएका सहयोगीहरूसमेत कांग्रेसमै फर्किएको उनले उल्लेख गरेका छन्।

देवले विशेष राष्ट्रिय महाधिवेशनबाट पारित नयाँ नीति र अग्रगामी सोचले पार्टीलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन्। सभापति गगन थापाको नेतृत्वमा पार्टीभित्र रूपान्तरणको प्रक्रिया सुरु भएको दाबी गर्दै उनले सोही नेतृत्वले देशमा पनि सामाजिक–राजनीतिक परिवर्तनलाई निर्णायक रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।

चार दशक लामो राजनीतिक यात्रामा देवले कांग्रेससहित विभिन्न वाम तथा मधेशकेन्द्रित दलहरूमा आवद्धता जनाइसकेका छन्। यसअघि उनी नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम र लोकतान्त्रिक फोरममा समेत सक्रिय रहँदै आएका थिए।

देवको पुनरागमनलाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like