- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ५ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले चितवन–३ बाट सोविता गौतमलाई उम्मेदवार बनाउने निर्णय अत्यन्त आवश्यक ठानेर गरिएको बताएका छन्। मंगलबार चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त निर्णय पार्टीको सामूहिक सहमतिमा भएको स्पष्ट पारे।
लामिछानेका अनुसार चितवनबाट सुरु भएको राजनीतिक परिवर्तनलाई ठोस निर्णयमा रूपान्तरण गर्न सोविता गौतमको उम्मेदवारी आवश्यक थियो। “चितवन परिवर्तनको प्रतीक बनेको ठाउँ हो, त्यसलाई नीतिगत उपलब्धिमा बदल्न सोविताको उपस्थिती जरुरी थियो,” उनले भने।
उनले सोविता गौतमलाई केवल उम्मेदवार नभई नयाँ पुस्ताका लागि प्रेरणादायी र साहसी महिला नेतृका रूपमा चित्रण गरे। देशभरबाट उम्मेदवारी दिन सक्ने अवस्था हुँदाहुँदै पनि चितवनबाटै उठाउने निर्णय सन्देशमूलक रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा लामिछानेले मतदातालाई यसपटक परिणाममुखी निर्णय गर्न आग्रह गरे। विगतमा अन्यायका बेला आफूलाई साथ दिएको स्मरण गर्दै उनले जनताको विश्वासप्रति कृतज्ञता व्यक्त गरे। “मसँग बाँकी केही छैन, सत्य र इमान छ। त्यही आधारमा सक्षम प्रतिनिधिहरूलाई संसद् पठाउनेछौं,” उनले भने।
लामिछानेले यस निर्वाचनलाई केवल सत्ताको प्रतिस्पर्धा नभई देश र जनताको जित सुनिश्चित गर्ने अवसरका रूपमा चित्रण गरे। उनका अनुसार यसपटकको मत परिणामले मुलुकको दिशानिर्देश तय गर्नेछ।