Monday, March 2, 2026

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: विशेष अदालतमा सुनुवाइ सुरु हुँदै


काठमाडौँ। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश हुने भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ। अभियोगपत्रमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थअनुसार हस्तान्तरण गराएको आरोप लगाइएको छ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको उल्लेख छ। साथै, २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टाको अनुमति दिएको दाबी अख्तियारले गरेको छ।

प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको आरोप छ। सोही आधारमा ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

यस प्रकरणको सुनुवाइसँगै उच्च राजनीतिक तहसँग जोडिएको बहुचर्चित मुद्दाले नयाँ मोड लिने अपेक्षा गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like