- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - डिसहोमको कर्मचारीको रूपमा प्रस्तुत भई सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त गिरोहले डिसहोमका ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनासम्म बोनस पाइने’ प्रलोभन देखाउँदै रकम असुल्ने गरेको थियो। ग्राहकको विश्वास जित्न उनीहरूले नक्कली रसिद र छापसमेत प्रयोग गर्ने गरेको खुलेको छ।
अनुसन्धानबाट मुख्य योजनाकार आरती सिंखडाले करिब चार वर्षसम्म डिसहोमको सब–डिलर तथा इन्टरनेट सेवामा काम गरेको पाइएको छ। सोही अवधिमा संकलन गरेको ग्राहक विवरण प्रयोग गरेर उनले ठगीको जालो फैलाएको प्रहरीको भनाइ छ।
प्रहरीले आरोपितहरूबाट प्रविधि इम्पेक्स प्रालिको छाप, रसिद प्याड, नक्कली परिचयपत्र तथा ग्राहकहरूको विवरण राखिएको डायरी बरामद गरेको जनाएको छ।
सिंखडाले ठगीबाट उठाएको रकम आफ्नै तथा श्रीमानको इसेवा, खल्ती र विभिन्न बैंक खातामा जम्मा गर्न लगाउने गरेको पनि अनुसन्धानमा देखिएको छ। साथै, उनले प्रयोग गर्ने नक्कली रसिद र छाप गोंगबुस्थित एक आर्ट पसलबाट बनाएको पुष्टि भएको छ।
प्रारम्भिक विवरणअनुसार, गिरोहले हालसम्म ३६४ भन्दा बढी व्यक्तिबाट २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिसकेको छ। यद्यपि, अहिलेसम्म सात जना पीडितले मात्र औपचारिक उजुरी दिएका छन् भने अन्य पीडितहरू सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।