Friday, April 17, 2026

नयाँ बानेश्वरमा क्रिप्टो र हुण्डी कारोबार : ३० लाख नगदसहित ४ जना पक्राउ


काठमाडौँ - काठमाडौँको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध रूपमा क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबार सञ्चालन गरिरहेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आइतबार साँझ चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट ३० लाख रुपैयाँ नगद तथा कारोबारमा प्रयोग हुने विभिन्न विद्युतीय उपकरण बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा चितवन स्थायी घर भई हाल झम्सिखेल बसोबास गर्दै आएका ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेलका ३२ वर्षीय रबिन जी.आर. र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।

प्रारम्भिक अनुसन्धानले उनीहरूले क्रिप्टोकरेन्सीको खरिद–बिक्रीसँगै हुण्डीमार्फत ठूलो रकमको अवैध ओसारपसार गर्दै आएको देखाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अभौतिक मुद्रा तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डी कारोबार र अभौतिक मुद्रा प्रयोगसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रहरीले उनीहरूको साथबाट ३० लाख नगदसहित ६ वटा मोबाइल फोन र एप्पल कम्पनीको एक म्याकबुक पनि बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like