Monday, March 2, 2026

‘संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ’ : उपेन्द्र यादवको मतदातालाई अपिल


काठमाडौँ, ५ फागुन। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले संघीयताको रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्रै रहेको बताएका छन्।

मंगलबार फेसबुकमार्फत अभिव्यक्ति जारी गर्दै अध्यक्ष यादवले आगामी निर्वाचनमा जसपा नेपालले जित्नैपर्ने उल्लेख गरेका छन्। उनले भने, “मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो। गोली, दमन र षड्यन्त्रको बाबजुद अधिकार र पहिचानको झण्डा उचाल्ने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो।”

यादवले अहिले शहीदको बलिदानबाट स्थापना भएको संघीयतालाई कमजोर बनाउन खोज्ने प्रयास भइरहेकाले त्यसको सुरक्षा र रक्षा गर्ने जिम्मा जसपा नेपालसँग मात्र रहेको औंल्याए।

अध्यक्ष यादवले मतदातासँग अपिल गर्दै भने, “अब इतिहास लेख्ने कि इतिहास मेट्ने? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गरौँ।” उनले विभाजन र भ्रमभन्दा माथि उठेर, संघीयताको रक्षा र अधिकार सुनिश्चित गर्ने शक्तिलाई मतदान गर्न आग्रह गरे।

यसरी यादवले आफ्नो पार्टीलाई मधेशको प्रतिनिधित्व र संघीयता संरक्षकको रूपमा प्रस्तुत गर्दै मतदातालाई निर्णायक भूमिका खेल्न प्रेरित गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like