Saturday, July 18, 2026

‘चुनाव हारेकालाई धमाधम नियुक्ति गर्दै सरकार आफ्नै नाराबाट विचलित भयो’ : पद्मा अर्याल


काठमाडौं, २४ असार — नेकपापा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नै राजनीतिक प्रतिबद्धताविपरीत काम गरिरहेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै अर्यालले सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गरे पनि अहिले भने निर्वाचनमा पराजित व्यक्तिहरूलाई धमाधम नियुक्ति दिइरहेको दाबी गरिन्।

उनले सरकार सय दिन नपुग्दै आफ्नै ‘जान्नेलाई छान्ने’ भन्ने नाराबाट विचलित भएको टिप्पणी गरिन्। रास्वपाले योग्य व्यक्तिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने आफ्ना निकट व्यक्तिलाई मात्रै अवसर दिने नीति अवलम्बन गरेको उनको आरोप थियो।

अर्यालले सरकार गठनको सय दिनको अवधिमा सार्वजनिक गरिएका प्रतिबद्धताअनुसार काम हुन नसकेको उल्लेख गर्दै, पहिले आलोचना गरिएका व्यक्तिहरू रास्वपामा आबद्ध भएपछि उनीहरूलाई नै योग्य ठहर्याइएको दाबी गरिन्।

सुशासनको नारासहित सरकार गठन भए पनि पछिल्ला सय दिनमा त्यसको कार्यान्वयनभन्दा बढी राजनीतिक प्रदर्शन मात्र भएको उनको भनाइ थियो। आफ्ना पक्षका व्यक्तिलाई छानबिनको दायराभन्दा बाहिर राख्ने प्रवृत्तिले सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उठाएको भन्दै उनले आयोग गठनको उद्देश्यसमेत शंकास्पद देखिएको टिप्पणी गरिन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like