- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले निक्षेपमा दिइने ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन्।
प्राप्त विवरणअनुसार १० वाणिज्य बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन्। ती बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन्।
त्यस्तै, ९ बैंकले ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
घटाइएको दरअनुसार सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएका छन्। हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले कटौती गरेको छ।
यसैगरी, व्यक्तिगत निक्षेपतर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५ प्रतिशत, एभरेष्ट बैंकले ०.२० प्रतिशत, कुमारी बैंकले ०.०७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
नबिल बैंकले भने संस्थागत निक्षेपतर्फ मात्र ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ।
यसपटक कृषि विकास बैंक एकमात्र यस्तो बैंक बनेको छ जसले ब्याजदर बढाएको छ। उक्त बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्म ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको जनाएको छ।