- by समाचार कक्ष
- Mar 06, 2025
विराटनगर - बचतकर्ताको रकम हिनामिनापछि समस्याग्रस्त घोषित गरिएको अम्बे कोशी सहकारीमा साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।
सुनसरीको इटहरीस्थित कार्यालय रहेको उक्त सहकारीमा २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई पहिलो प्राथमिकतामा राख्दै रकम फिर्ता गरिन थालिएको हो। सहकारीका सञ्चालकद्वारा रकम अपचलन भएपछि कोशी प्रदेश सरकारले २०८१ पुस २३ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसअघि पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको थियो।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. पशुपति ढुङ्गानाका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई लक्षित गर्दै करिब १ करोड ३८ लाख रुपैयाँ वितरण गरिनेछ। उक्त रकम प्रत्यक्ष रूपमा बचतकर्ताको बैंक खातामा पठाइने व्यवस्था गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेले जानकारी दिएअनुसार, पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २८७ जना बचतकर्ताले रकम फिर्ता पाउनेछन्।
समितिका अनुसार हालसम्म १,१७३ जनाले करिब २४ करोड ८८ लाख रुपैयाँ हिनामिनाको दाबी गरेका छन्। साथै, सहकारीका अध्यक्ष फणिन्द्र मगरलगायतले करिब ९ हजार बचतकर्ताबाट संकलित ४२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको तथ्य पनि बाहिर आएको छ।
रकम हिनामिनाको आरोपमा पक्राउ परेका अध्यक्ष मगर झुम्का कारागारमा राखिएका थिए। तर, जेन्जी आन्दोलनका क्रममा फरार भएका उनी अझै सम्पर्कविहीन छन्।
समिति हाल सहकारीले लगानी गरेको ऋण असुली गर्दै चरणबद्ध रूपमा सबै बचतकर्ताको रकम फिर्ता गर्ने तयारीमा रहेको जनाएको छ।