- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ३ चैत - नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन पहल गर्न आग्रह गरेका छन्। लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा पुनले विमानस्थल पूर्ण रूपमा उपयोगमा ल्याउन भारतसँग हवाई रुटबारे कूटनीतिक वार्ता अघि बढाउन ढिलाइ गर्न नहुने बताए।
उनले भैरहवा विमानस्थलमा श्रम डेस्क स्थापना गरी अन्तर्राष्ट्रिय उडान नियमित गर्न सके पर्यटन र रोजगारीका अवसर विस्तार हुने उल्लेख गरे। यसका लागि आवश्यक कूटनीतिक पहल तत्काल थाल्नुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, पुनले दाङको कोइलाबासदेखि रोल्पा, रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणलाई तीव्रता दिन माग गरे। उक्त सडक चीन सीमासम्म जोडिने भएकाले यसको रणनीतिक महत्व उच्च रहेको उनको भनाइ छ। उनले सडकका विभिन्न खण्ड स्तरोन्नति तथा कालोपत्रका लागि बजेट सुनिश्चित गर्न आग्रह गरे।
रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत आयोजनालाई अघि बढाउन पनि पुनले सरकारको ध्यानाकर्षण गराए। सरकारी र चिनियाँ लगानीमा निर्माण गर्ने योजना बनेको भए पनि आयोजना हाल रोकिएको अवस्थामा छ।
यसैबीच, उनले गण्डकी आर्थिक त्रिभुज परियोजना पुनःसक्रिय गर्नुपर्ने आवश्यकता औंल्याए। भरतपुर, बुटवल र पोखरालाई केन्द्रमा राखेर अघि बढाइने उक्त परियोजनाले नयाँ आर्थिक केन्द्र निर्माण गर्दै देशको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास उनको छ।
पुनले लुम्बिनी प्रदेशको कृषि सम्भावनालाई ध्यानमा राख्दै सिंचाइ, मल, बिउ, आधुनिक प्रविधि र बजार व्यवस्थापन समेटिएको एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। साथै, सबै निर्वाचन क्षेत्रमा समान रूपमा विकास आयोजना वितरण गर्न सांसदहरूको सिफारिसलाई आधार बनाइनुपर्ने उनको धारणा छ।