- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २३ चैत - अघिल्लो कारोबार दिन ठूलो गिरावट आएको सेयर बजार सोमबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेप्से परिसूचक ८३.३३ अंकले वृद्धि हुँदै २७६० अंकमा पुगेको हो। कारोबारका क्रममा दिउँसो २:३३ बजे बजार ९८ अंकसम्म बढेर २७७५ अंकमा पुगेको थियो, जुन आजको उच्चतम बिन्दु रह्यो।
अघिल्लो दिनको गिरावटपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास नफैलिन आग्रह गर्दै लगानीकर्तालाई आश्वस्त पार्नुभएको थियो। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँगको छलफलमा उहाँले आगामी बजेट रुपान्तरणकारी हुने र बजारलाई थप पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, आर्थिक पत्रकारहरूसँगको भेटमा पनि बजार सुधारका कार्यक्रम अघि बढ्ने र नेप्से पुनर्संरचना प्रक्रिया जारी रहेको जानकारी दिनुभयो।
अर्थमन्त्रीको सकारात्मक सन्देशले बजारमा उत्साह थपिएको देखिन्छ। यद्यपि, कुल कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड रुपैयाँमा सीमित रह्यो।
आज २६४ कम्पनीको शेयर मूल्य बढ्दा मात्र ४ कम्पनी घटेका छन् भने एक कम्पनी स्थिर रह्यो। सबै उपसमूहहरूमा हरियाली छाएको छ, जसमा हाइड्रोपावर समूह सर्वाधिक ४.५९ प्रतिशतले उकालो लागेको छ। त्यस्तै फाइनान्स, विकास बैंक, बैंकिङ, होटल तथा पर्यटन, लगानी, बीमा, माइक्रोफाइनान्स लगायतका समूहहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ।
कारोबारका क्रममा ८ कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ। उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इनमा उच्च वृद्धि देखिएको हो। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरमा पनि उल्लेख्य वृद्धि भएको छ।
यता अघिल्लो दिन उच्च वृद्धि गरेको रिलायन्स स्पिनिङ मिल्समा भने सोमबार बिक्री दबाब देखिँदा मूल्य १.६० प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर परेका छन्।